काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भू-भागमा बदली र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बादल लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा भने दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। तराईका थोरै स्थानहरूमा भने राति पनि हुस्सु लाग्नेछ। पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा चिसो बढ्न सक्ने र हिमपातले हिमाली जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।





