काभ्रे, सिराहा र सुर्खेतसहित ६ जिल्लाबाट जुवातास खेलिरहेका ५९ जना पक्राउ, लाखौँ नगद र लंगुरबुर्जा बरामद

काठमाडौँ । देशका विभिन्न ६ जिल्लाबाट जुवातास तथा लंगुरबुर्जा खेलिरहेको अवस्थामा ५९ जनालाई नगद र ताससहित प्रहरीले पक्राउ गरेको छ। तिहार तथा चाडपर्व नजिकिएसँगै सुरक्षा निगरानी कडा पारेको प्रहरीले काभ्रे, सिराहा, बारा, प्युठान, कपिलवस्तु र सुर्खेतका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार विभिन्न जिल्लामा सञ्चालित विशेष अपरेशनका क्रममा कुल ८ लाख ८३ हजार ९०५ रुपैयाँ नेपाली र २ हजार ८८० भारतीय रुपैयाँ, तासका बुकहरू तथा लंगुरबुर्जाका गोटीसहित ५९ जना जुवाडे पक्राउ परेका हुन्।

काभ्रेमा ३ लाख ४५ हजारसहित ७ जना पक्राउ

काभ्रेको पनौती नगरपालिका–९ सुन्थानस्थित सुरेश कुमार श्रेष्ठको घरमा कौडा र जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले श्रेष्ठको घरबाट ४० वर्षीय घरधनी सुरेश कुमार श्रेष्ठसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ३ लाख ४५ हजार रुपैयाँ नगद र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

बाराको बाख्राको खोरमा जुवाको अखडा, ९ जना नियन्त्रणमा

त्यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ कट्टा टोलस्थित एक बाख्राको खोरमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। ३१ वर्षीय उपेन्द्र प्रसाद साहको बाख्राको खोरभित्र लुकिछिपी जुवा खेलाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराको टोलीले छापा हानेको थियो। त्यहाँबाट नगद ७६ हजार ३९० रुपैयाँ र ८ बुक ताससहित ९ जनालाई नियन्त्रणमा लिइएको छ।

सुर्खेतमा लंगुरबुर्जा र ताससहित १८ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित ४३ वर्षीय कुल बहादुर सुनारको घर तथा वरपर जुवातास र लंगुरबुर्जा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूको साथबाट १ लाख ५ हजार ६७० रुपैयाँ नगद, २८ बुक तास र ६ थान लंगुरबुर्जा बरामद गरेको छ।

कपिलवस्तु, प्युठान र सिराहाबाट २६ जना पक्राउ

उता कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बनकसियास्थित ३३ वर्षीय जीवन विश्वकर्मासहित १२ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। उनीहरूबाट २ लाख २० हजार १९० रुपैयाँ नगद र ६ बुक तास बरामद भएको छ।

यस्तै प्युठानको प्युठान नगरपालिका–२ जुम्रीबाट ५५ वर्षीय दिल बहादुर सुनारसहित १४ जनालाई नगद १ लाख ४० हजार रुपैयाँ र ४ बुक ताससहित प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहाको लहान नगरपालिका–७ बाट ५३ वर्षीय निरज गुप्तासहित ५ जनालाई ३६ हजार ६५५ नेपाली रुपैयाँ, २ हजार ८८० भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरिएको छ।

जुवा ऐनअन्तर्गत कानुनी कारबाही अघि बढाइयो

चाडपर्वको अवसर छोपेर हारजित हुने गरी ठूलो रकमको बाजी लगाएर जुवातास खेल्ने र खेलाउने प्रवृत्ति बढ्ने भएकाले प्रहरीले विशेष सर्च अभियान तीव्र पारेको जनाएको छ। पक्राउ परेका ५९ जनामाथि नै सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले जुवा ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा