काठमाडौँ । यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज ऐश्वर्य, धनधान्य र समृद्धिकी अधिष्ठात्री देवी माता महालक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। आजको रातलाई सनातन परम्परामा सुखरात्रि पनि भनिन्छ। कात्तिक कृष्ण औँसीको यस पुण्य तिथिमा घर–आँगनलाई सफासुग्घर र लिपपोत गरी दीपावली बालेर महालक्ष्मीलाई स्वागत गरिन्छ।
‘श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥’ कमलमा विराजमान महालक्ष्मी माताको स्मरण र आराधना गर्नाले दरिद्रता नाश भई सुख, शान्ति, आरोग्य र समृद्धिको आशीर्वाद प्राप्त हुने जनविश्वास छ।
गाईको गोबरले लिपेको आँगन र केराको थम्बा
आजको दिनको मौलिकता गाउँघरदेखि सहरसम्म अनुपम देखिन्छ। हरियो घाँस खाएर गाईले दिएको पवित्र गोबर, रातो माटो वा कमेरोले घर–आँगन लिपपोत गरी चिटिक्क पारिन्छ। मूल ढोकामा हरियो गोबरले लिपेर केराका थम्बाहरू (खम्बा) खडा गरी द्वार बनाइन्छ, जसमा दियो अड्याउन बाँसका साना टेकोहरू राखिन्छन्। आँगनभरि पाक्दै गरेका सेलरोटी, अर्सा र अनर्साको मीठो वासनाले चाडपर्वको माहोल गुञ्जायमान बन्छ।
घरको प्रवेशद्वार वा तुलसीको मठबाटै चामलको पिठो र अबिरले लक्ष्मीका पाइलारूपी राता डोबहरू कोरेर पूजा कोठा तथा ढुकुटीसम्म पुर्याइन्छ। यिनै पाइला पछ्याउँदै माता लक्ष्मी घरभित्र प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ। साँझ आँगनमा चामल, अबिर र सयपत्रीका थुँगाहरू सजाएर गोलो, चारकुने तथा कलात्मक रङ्गोली बनाइन्छ।
धनधान्य, गरगहना र खाताको पूजा
साँझ सन्ध्याकालपछि राति अबेरसम्म घरका सम्पूर्ण नगद द्रव्य, गरगहना, श्री–सम्पत्ति, बहीखाता र तराजुलाई एकै ठाउँमा राखेर महालक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी षोडशोपचार विधिले पूजाआजा गरिन्छ। आज घरका सम्पूर्ण झ्याल, ढोका, कौसी र बार्दलीहरूमा माटोका पाला तथा दियोमा घिउ र तेलका बत्ती बालेर झिलिमिली दीपावली गरिन्छ।
भैलिनी आयौँ आँगन : परम्परागत भैलोको उल्लास
लक्ष्मीपूजाको साँझ महालक्ष्मीको आराधना सम्पन्न भएपछि गाउँ–सहरमा दिदीबहिनी तथा बालबालिकाहरू परम्परागत पहिरनमा सजिएर घर–घरमा भैलो खेल्न निस्कन्छन्। ‘भैलिनी आयौँ आँगन, गुन्यू चोलो माँगन, हे औँसीको बारो, गाईतिहारो भैलो…’ भन्दै घरधनीलाई सुख, शान्ति र प्रगतिको आशीष दिने परम्पराले तिहारको उल्लासलाई अझ आत्मीय बनाउँछ।
तिथिको घटबढका कारण आज बिहान नरक चतुर्दशी स्नानसमेत गरिँदैछ भने आजै नेपाली साहित्यका अमर नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि श्रद्धापूर्वक मनाइँदैछ। उज्यालो र रङ्गहरूको यस महान् पर्वमा समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरिन्छ।





