काठमाडौं । सामाजिक सञ्जालमार्फत मतदाताको गोपनीयता भंग गर्ने कार्यप्रति जिल्ला निर्वाचन कार्यालय काठमाडौंले कडा आपत्ति जनाएको छ।
सर्वसाधारण र मतदातालाई ‘कसलाई मत दिनुहुन्छ?’ भनी सोध्ने र सोको विवरण सार्वजनिक गरी गोपनीयता हनन गर्ने गतिविधि बढेपछि कार्यालयले निर्वाचन आचारसंहिताको गम्भीर ध्यानाकर्षण गराएको हो।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम यस्ता कार्य उल्लंघनको श्रेणीमा पर्ने भन्दै कार्यालयले तत्काल यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ।
निर्वाचन कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुनुभन्दा १७ दिन अघिदेखि मात्र आधिकारिक रूपमा प्रचारप्रसार गर्न पाइने कानुनी व्यवस्था छ। सो अवधिमा मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा प्रचार सामग्री प्रसारण र घरदैलो कार्यक्रम गर्न अनुमति दिइएको छ।
तर, निर्धारित समयअगावै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा गर्ने, प्रचार सामग्री फैलाउने र घरदैलो गरी मतदातालाई प्रभाव पार्ने काम गरेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।
आचारसंहिताको पूर्ण पालनाका लागि पटक-पटक छलफल र सूचनामार्फत जानकारी गराउँदा पनि कतिपय उम्मेदवार र दलका प्रतिनिधिले अटेर गरेको निर्वाचन कार्यालयको निष्कर्ष छ। कार्यालयले अबका दिनमा आचारसंहिता उल्लंघन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
मतदाताको छनोटको अधिकार र गोपनीयतालाई सुरक्षित राख्नु सबैको जिम्मेवारी भएको भन्दै कार्यालयले मर्यादित निर्वाचन प्रक्रियामा सहयोग गर्न अपिल गरेको छ।





