काठमाडौँ। आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विसं २००७ सालको ऐतिहासिक जनक्रान्ति सफल भई १०४ वर्ष लामो निरंकुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइँन्छ।
यस गौरवपूर्ण दिनको अवसरमा सरकारले आज मुलुकभर सार्वजनिक बिदा समेत दिएको छ। नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्तिको प्रस्थानविन्दुका रूपमा यो दिनलाई विशेष महत्त्वका साथ हेरिने गरिन्छ।
संघर्ष र राजनीतिक विकासक्रम
निरंकुशताविरुद्ध नेपाली जनताले गरेको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त प्रजातन्त्रकै आधारमा नेपालको पछिल्लो राजनीतिक विकासक्रम अगाडि बढेको हो। विसं २००७ को यही फागुन ७ गतेको जगमा टेकेर नै २०४६ साल चैत २६ गते प्रजातन्त्रको पुनःस्थापना सम्भव भएको थियो।
प्रजातन्त्रकै जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्रको प्राप्ति भयो। यसैको निरन्तरता स्वरूप २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा घोषणा गरेको थियो।
संविधान र वर्तमान अवस्था
दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भई हाल कार्यान्वयनको चरणमा छ। नेपालमा भएका सबै ठूला राजनीतिक परिवर्तनको मुख्य जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गरिन्छ।
राष्ट्रपतिको शुभकामना र सुशासनको संकल्प
दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा अमूल्य योगदान गर्ने सबै योद्धा र सहिदप्रति उच्च सम्मान प्रकट गरेका छन्।
निर्वाचन सफल पार्न राष्ट्रपतिको अपिल
राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिएका छन्।
उक्त निर्वाचनलाई सफल बनाउनु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै उनले यस ऐतिहासिक कार्यमा सक्रिय योगदान पुर्याउन आम जनसमुदायमा हार्दिक अपिल समेत गरेका छन्।





