लिस्बन (पोर्चुगल) । नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले ‘नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र’ को पहिलो बैठक आज शुक्रबार लिस्बनमा बस्दैछ। सन् २०१८ मा स्थापना भएको यस संयन्त्रको यो पहिलो औपचारिक बैठक हो।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गर्दैछन्। बैठकमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन, र बहुपक्षीय मञ्चहरूमा हुने सहकार्यका साथै साझा चासोका विषयमा विस्तृत समीक्षा हुनेछ।
भ्रमणका क्रममा परराष्ट्र सचिव राईले लिस्बनमा भर्खरै स्थापना गरिएको नेपाली दूतावासको औपचारिक उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ। हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको अनुमान छ।
सचिव राईले त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र छलफल समेत गर्नेछन्। प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल लगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरू सहभागी छन्।





