होलीको दिन पनि ह्वात्तै बढ्याे सुनकाे भाउ, दुई दिनमै तोलामा ११ हजार २०० को वृद्धि

काठमाडाैं । रङ्गहरूको पर्व होलीका अवसरमा नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ।

उत्सवको रौनक छाएका बेला सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले ह्वात्तै बढेको हो। अघिल्लो दिन आइतबार पनि तोलामा ५ हजार ६ सयले नै बढेको सुनको मूल्यले यस वर्षको होलीमा निकै महँगो रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकिएको छ। हिजो आइतबार यो प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाडपर्वकै समयमा दुई दिनभित्रै तोलामा ११ हजार २०० रुपैयाँको वृद्धि भएपछि उपभोक्ताहरू अचम्मित बनेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा, विशेषगरी मध्यपूर्वमा बढ्दै गएको तनावका कारण विश्व बजारमा सुनको माग र मूल्य दुवै बढेको छ। त्यसैको सिधा प्रभाव नेपाली बजारमा परेको हो।

सुनसँगै चाँदीको भाउमा पनि होलीको दिन बढोत्तरी देखिएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा