कराँची । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको इजरायली-अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि छिमेकी देश पाकिस्तानमा भीषण हिंसा भड्किएको छ। आइतबार देशभर भएका विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।
हिंसात्मक झडपमा परी कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाले ज्यान गुमाएका छन्। कराँचीमा उग्र प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट नाघेर मुख्य भवनका झ्यालहरू फुटाएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। स्थिति सम्हाल्न सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ।
गिल्गिट-बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरेपछि त्यहाँ तीन दिनका लागि कर्फ्यु लगाइएको छ। इस्लामावादको रेड जोनमा हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। घाइतेहरूको उपचारका लागि इस्लामावादका अस्पतालहरूमा ३५ भन्दा बढी व्यक्ति भर्ना भएका छन्।
पाकिस्तान सरकारले इरानमाथि भएको हमलाको निन्दा गरे पनि प्रदर्शनकारीहरूले सरकारको भूमिकाप्रति आक्रोश पोखेका छन्। यसैबिच, अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन सचेत गराएको छ।





