काठमाडौं । आगामी बिहीबार (फागुन २१ गते) देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार सबै मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। निर्वाचन आउन अब दुई दिन मात्र बाँकी रहँदा आयोगले अन्तिम तयारी पूरा गरेको छ।
मतदानका लागि मतदाता नामावलीमा नाम भएका नागरिकले ६ मध्ये कुनै एक आधिकारिक परिचयपत्र देखाउनुपर्नेछ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन आयोगले जारी गरेको ‘मतदाता परिचयपत्र’ नभएका खण्डमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक कागजातका आधारमा मतदान गर्न सकिनेछ।
मतदान केन्द्रहरूमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। यद्यपि, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई भने लाइनमा बस्नु नपर्ने गरी विशेष प्राथमिकता दिइनेछ। यस्ता मतदाताहरूले मतदान अधिकृत वा खटिएका स्वयंसेवकबाट आवश्यक सहयोग समेत लिन सक्नेछन्।
आयोगले सबै मतदातालाई आफ्नो नाम दर्ता भएको मतदान केन्द्र सुनिश्चित गरी अनिवार्य रूपमा परिचय खुल्ने कागजातसहित उपस्थित हुन अपिल गरेको छ। मतदान कार्यमा खटिएका कर्मचारीहरूलाई पनि अशक्त तथा विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरण मिलाउन निर्देशन दिइएको छ।





