काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन सवारी पासको दुरुपयोग नगर्न सम्बन्धित सबैलाई कडा निर्देशन दिएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै सवारी पासको सुविधा पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्यलाई ओसारपसार नगर्न अनुरोध गरेको हो।
आयोगका अनुसार मतदानको दिन आवागमनलाई व्यवस्थित र सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम कतिपय सवारीलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ। विशेष गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका कर्मचारीहरूलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म आउन-जान थप पास आवश्यक नपर्ने गरी नेपाल सरकारलाई सिफारिस गरिएको छ।
तर, यसरी पास आवश्यक नपर्ने गरी छुट पाएका वा पास प्राप्त गरेका सवारीसाधनले नियमविपरीत अन्य व्यक्ति ओसारपसार गरेको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा तुरुन्त रोक लगाउने चेतावनी आयोगले दिएको छ। निर्वाचनको दिन सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले यो कदम चालेको हो।





