काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान भइरहेको आज फागुन २१ गते बिहीबार देशका अधिकांश भू-भागको मौसम मतदानका लागि अनुकूल रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा कुनै ठुलो बदलाव आउने सम्भावना छैन।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली (बादल लाग्ने) रहनेछ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागे पनि दिउँसोदेखि मौसम खुल्ने र घाम लाग्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका थोरै स्थानहरूमा रातिको समयमा तुवाँलो लाग्न सक्ने सम्भावना छ। बाँकी क्षेत्रको मौसम भने राति पनि सफा नै रहनेछ। समग्रमा आज निर्वाचनका दिन देशभरि नै वर्षाको सम्भावना नरहेकाले मतदाताहरूलाई मतदान केन्द्रसम्म पुग्न मौसमले साथ दिने देखिएको छ।







