काठमाडाैं । साताको सुरुवातसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। बितेका दुई दिन लगातार ओरालो लागेको सुनको भाउ आइतबार भने नाटकीय रूपमा उकालो लागेको हो। गत शुक्रबार प्रतितोला ४ हजार २०० रुपैयाँको भारी गिरावट व्यहोरेको सुनको मूल्यमा आज ३ हजार ५०० रुपैयाँको बढोत्तरी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मूल्य बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ। जबकी साताको अन्तिम कारोबार दिन शुक्रबार यसको मूल्य ३ लाख १३ हजार ४०० रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले महँगिएर ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।





