काठमाडौँ । पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिको व्यक्तिगत सफलताभन्दा देशको हित र जित नै सर्वोपरी हुने धारणा व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूचीमा रहेर पनि सांसद बन्न नसकेका मल्लले एक सन्देश जारी गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले रास्वपाबाट निर्वाचित सांसदहरूलाई बधाई दिँदै खेलमैदान र संसद् दुवै ठाउँबाट देशको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
मल्लले आफ्नो सामाजिक सञ्जालमार्फत आफू संसद्मा होस् वा सडकमा, जुनसुकै भूमिकाबाट पनि देशको सेवामा निरन्तर लागिरहने बताएका छन्। जनजाति क्लस्टरबाट समानुपातिकको बन्दसूचीमा रहेका मल्ल रास्वपाले प्राप्त गरेको ५७ जनाको अन्तिम सांसद सूचीमा पर्न सकेका थिएनन्। राजनीतिक यात्रामा अवसर नपाए पनि उनी निराश नभई राष्ट्र निर्माणको अभियानमा आफू सधैँ साथमा रहने स्पष्ट पारेका छन्।
उनले देशलाई जिताउने लक्ष्यका साथ अघि बढेका आफ्ना सहकर्मीहरूले व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर जनताको सेवामा लाग्ने विश्वास व्यक्त गरेका छन्। विशेष गरी राष्ट्रको विकास, सुशासनको प्रत्याभूति र भ्रष्टाचारको अन्त्यका लागि सांसदहरू एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्। खेलकुद क्षेत्रको नेतृत्वबाट राजनीतिमा होमिएका मल्लको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा परिपक्व र जिम्मेवार नेतृत्वको रूपमा हेरिएको छ।
खेलाडी जीवनबाट राजनीतिमा प्रवेश गरेका मल्लको यो धारणाले नयाँ पुस्ताका राजनीतिकर्मीहरूमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ। खेलकुद र राजनीति दुवै क्षेत्रमा देशको गरिमा बढाउनुपर्छ भन्ने मान्यता राख्ने मल्लले हार वा जितको मनोविज्ञानबाट माथि उठेर राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्।







