काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान आराध्यदेव पशुपतिनाथको दर्शन गर्नुका साथै विशेष रुद्राभिषेक पूजा सम्पन्न गरेकी छिन्। हालै सम्पन्न आम निर्वाचन शान्तिपूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा उनले भगवान् पशुपतिनाथप्रति कृतज्ञता प्रकट गर्दै यो पूजा गरेकी हुन्। निर्वाचनपछि मुलुक नयाँ राजनीतिक कोर्षमा प्रवेश गरिरहेका बेला उनले राष्ट्रको कल्याण र समृद्धिको कामना गरेकी छिन्।
पशुपतिनाथ मन्दिर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति र राजनीतिक स्थायित्वको मार्गमा डोर्याउन सबै पक्षबाट प्राप्त सहयोगका लागि धन्यवाद दिइन्। “निर्वाचनको यो महान् पर्व सफलतापूर्वक सम्पन्न हुनु गौरवको कुरा हो,” उनले भनिन्, “आगामी दिनमा नेपाल थप उन्नतिको मार्गमा अग्रसर होस् र सबै नेपालीबीच आपसी एकता, सद्भाव र आत्मीयताको भावना अझ बलियो बनोस् भन्ने मेरो कामना छ।”
पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल र कार्यकारी निर्देशक सुवास जोशीलगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्रको विकास र संरक्षणका लागि भइरहेका कामहरूको समेत संक्षिप्त जानकारी लिएकी थिइन्।
लामो समयको राजनीतिक अन्योलपछि पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले तोकिएको समयमै निर्वाचन गराएर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। पशुपतिनाथको यो दर्शनलाई उनले आफ्नो कार्यकालको महत्त्वपूर्ण कार्यभार पूरा भएको सन्दर्भमा ‘धन्यवाद पूजा’ को रूपमा लिएको बताइएको छ।







