काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई स्वास्थ्योपचारका लागि सरकारी अस्पताललाई प्राथमिकता दिन विशेष आग्रह गरेका छन्। ललितपुरको ग्वार्कोमा आयोजित पार्टीको दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आह्वान गरेका हुन्। आकस्मिक अवस्थाबाहेक अन्य समयमा सरकारी स्वास्थ्य संस्थाकै सेवा लिन र त्यहाँको सेवा प्रवाहलाई चुस्त बनाउन भूमिका खेल्न उनले सांसदहरूलाई निर्देशन दिएका छन्।
“सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस्, यसले सरकारी सेवाको गुणस्तर सुधार्न मद्दत पुग्छ,” सभापति लामिछानेले सम्बोधनका क्रममा भने, “म यसलाई बाध्यकारी त भन्दिनँ, तर हामी आफैँले सरकारी प्रणालीमाथि विश्वास जगाउनु आवश्यक छ।” पार्टी स्थापना भएको छोटो अवधिमै जनताले दिएको ठुलो जिम्मेवारी र भरोसालाई आत्मसात् गर्दै जनमुखी काममा केन्द्रित हुन उनले नवनिर्वाचित प्रतिनिधिहरूलाई सचेत गराए।
पार्टीभित्र विभिन्न पृष्ठभूमि र छवि भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै लामिछानेले कसैको विवाद वा कसैको उच्च सार्वजनिक छवि जे जस्तो भए पनि अब साझा लक्ष्यका लागि एकजुट हुनुपर्नेमा जोड दिए। “हामीभित्र विविधता छ, तर हाम्रो उद्देश्य एउटै हुनुपर्छ। सरकारको बहुमत वा सङ्ख्या घटबढ हुने कुराको चिन्ता नगरी निर्धक्क भएर जनसेवाको काममा लाग्नुस्,” उनले सांसदहरूलाई ढाडस दिँदै भने। रास्वपा स्थापनाको चार वर्ष नपुग्दै प्राप्त यो उपलब्धिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उनको तर्क थियो।
अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा बोल्दै सभापति लामिछानेले आगामी संसदीय यात्रामा रास्वपाका सांसदहरूले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा खरो रूपमा उत्रिनुपर्ने बताए। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले परम्परागत राजनीतिक शैलीलाई परिवर्तन गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्न संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता समेत उनले दोहोर्याए।







