रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी विवाद: सर्वोच्च अदालतमा आज महत्त्वपूर्ण सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले यसअघि नै लामिछानेसहितको मुद्दा संशोधन गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो।

महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको मागअनुसार उक्त निर्णयसँग सम्बन्धित फाइल आइतबार अदालतमा पेस गरेपछि आजबाट पुनः सुनुवाइ प्रक्रिया अघि बढ्न लागेको हो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका सहकारी ठगी बाहेकका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू संशोधन (हटाउन) गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिनुभएको थियो।

सो निर्णय त्रुटीपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ सदर गर्दै लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन निर्देशन दिनुभएको दाबी रिटमा गरिएको छ।

उक्त निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए तापनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण त्यहाँको सुनुवाइ रोकिएको छ। यता काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने हालसम्म अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन्। आजको सुनुवाइले लामिछानेमाथि लाग्दै आएका गम्भीर मुद्दाहरूको भविष्य र महान्यायाधिवक्ताको निर्णयको वैधानिकता तय गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा