काठमाडौँ । नेपाली सुनचाँदी बजारमा पछिल्लो ४८ घण्टाभित्र मूल्यको अनपेक्षित र भारी गिरावट देखिएको छ। केही समययता आकाशिएको सुनको भाउमा लगातार ‘ब्रेक’ लाग्दै दुई दिनमै प्रतितोला १९ हजार रुपैयाँको भारी गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो एकैदिन १२,५०० रुपैयाँले घटेको सुनको मूल्यले आज पनि गिरावटको लयलाई निरन्तरता दिएको छ। आज मंगलबार छापावाल सुनको मूल्य थप ६ हजार ५०० रुपैयाँले ओरालो लागेर प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ। जबकि अघिल्लो दिन मात्रै यो प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको बजारमा पनि उच्च गिरावट आएको छ। दुई दिनको अन्तरालमा चाँदीको भाउ प्रतितोलामा ४७० रुपैयाँले सस्तिएको छ। हिजो ३५५ रुपैयाँले घटेको चाँदी आज पुनः ११५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ४२५ रुपैयाँमा झरेको छ।





