नेपाल प्रहरी र सशस्त्रमा ३ हजार ९६८ नयाँ दरबन्दी थप्ने तयारी, अर्थ मन्त्रालयमा सहमतिका लागि पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संगठनात्मक पुनर्संरचनासहित दुवै सुरक्षा निकायमा उल्लेख्य संख्यामा नयाँ दरबन्दी थप्ने प्रक्रियालाई तीव्रता दिएको छ । मन्त्रिपरिषद्को पूर्वस्वीकृति अनुसार गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिको सिफारिसका आधारमा दुई सुरक्षा निकायमा गरी कुल ३ हजार ९६८ नयाँ दरबन्दी सिर्जना गर्न लागिएको हो । यसका लागि गृह मन्त्रालयले आवश्यक सहमतिका निम्ति अर्थ मन्त्रालयमा औपचारिक पत्राचार गरिसकेको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणअनुसार नेपाल प्रहरीतर्फ कुल २ हजार १९४ दरबन्दी थप गर्न प्रस्ताव गरिएको छ । जसमा शान्ति सुरक्षा तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउन जनपदतर्फ १ हजार ६६४ र प्राविधिकतर्फ ५३० दरबन्दी थप गर्ने योजना छ । हाल नेपाल प्रहरीमा कुल स्वीकृत दरबन्दी ७९ हजार ५४१ रहेकोमा नयाँ दरबन्दी थप भई मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि प्रहरीको जनशक्ति ८१ हजारभन्दा माथि पुग्नेछ । यसले विभिन्न विभाग तथा स्थानीय तहसम्म प्रहरीको कार्यसम्पादन थप चुस्त बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

त्यस्तै, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा खटिने सशस्त्र प्रहरी बल नेपालमा पनि १ हजार ७७४ नयाँ दरबन्दी थप्ने प्रस्ताव अघि बढाइएको छ । हाल सशस्त्र प्रहरीमा स्वीकृत दरबन्दी ३७ हजार १५३ रहेको छ । शान्ति सुरक्षाको बढ्दो चुनौती र जनशक्तिको अभावलाई सम्बोधन गर्न दुवै निकायको दरबन्दी विस्तार अनिवार्य देखिएपछि ओएण्डएम सर्वेक्षणमार्फत यो प्रस्ताव अघि सारिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । अर्थ मन्त्रालयबाट वित्तीय सहमति प्राप्त भएपछि यो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने र स्वीकृतिपछि नयाँ पदपूर्तिका लागि औपचारिक विज्ञापन तथा भर्ना प्रक्रिया सुरु हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा