सेयर बजारमा उतारचढावका बीच सुधार: नेप्से ५.०१ अंकले बढ्दा ६ कम्पनीको मूल्यमा ‘सर्किट’

काठमाडौँ । सोमबार दिनभर तीव्र उतारचढावमा रहेको सेयर बजार अन्तिम समयमा सुधारिएर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.०१ अंकले बढेर २९३६ को विन्दुमा कायम भएको छ। दिउँसो २:३४ बजे २९११ अंकसम्म झरेको बजार त्यसपछिको अन्तिम समयमा सम्हालिँदै उकालो लागेको हो।

परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोड रुपैयाँको उच्च कारोबार भएकोमा आज घटेर १५ अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको छ। बजारमा आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत आधारमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ।

आज ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको हो। यस्तै फस्र्ट माइक्रोफाइनान्स, आशा लघुवित्त र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले पनि ८ प्रतिशतभन्दा बढी कमाएका छन्।

यता फाइनान्स, हाइड्रोपावर, लगानी र माइक्रोफाइनान्स समूहमा वृद्धि देखिँदा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा समूहका उपसूचकहरू भने घटेका छन्। सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ३.२३ प्रतिशतले घटेको छ। आज कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुपको सबैभन्दा धेरै कारोबार भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा