काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित सांसद केसीलाई शपथ गराउनुभएको हो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित कुल २७५ सदस्यमध्ये ७८ वर्षीय केसी सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ। नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएका केसीलाई संसद् सचिवालयले उमेरका आधारमा ज्येष्ठ सदस्यका रूपमा पहिचान गरेपछि राष्ट्रपतिबाट शपथ खुवाउने कार्यक्रम तय भएको थियो।
संवैधानिक व्यवस्थाअनुसार अब ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ। सोही बमोजिम भोलि (बिहीबार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अन्य २७४ जना सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको छ। नयाँ सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म उहाँले नै प्रतिनिधिसभाको बैठकको अध्यक्षता समेत गर्नुहुनेछ।
यस पटकको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी कुल २७५ जना सदस्य निर्वाचित भएका छन्। ज्येष्ठ सदस्यको शपथ ग्रहणसँगै नयाँ संसद्को पहिलो अधिवेशन प्रारम्भ हुने र नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाले थप वैधानिकता पाउने देखिएको छ। संसद् सचिवालयले भोलिको सामूहिक शपथ ग्रहणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिएको छ।





