ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । ‘जेनजी’ (Gen-Z) आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। आइतबार दर्ता भएको उक्त रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको हो।

ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकका तर्फबाट पत्नी यशोदा लेखकले सर्वोच्चमा छुट्टाछुट्टै निवेदन दर्ता गराउनुभएको थियो। निवेदनमा पर्याप्त कानुनी आधार बिना नै प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरिएको छ। यसअघि आइतबार नै काठमाडौँ जिल्ला अदालतले दुवै नेतालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। सरकारी वकिलले १० दिनको म्याद मागे पनि न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिनको समय प्रदान गरेको हो।

स्वास्थ्य अवस्था कमजोर भएका कारण एमाले अध्यक्ष ओलीलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल (TUTH) बाटै भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने नेता लेखक भौतिक रूपमा उपस्थित हुनुहुन्थ्यो। भदौ २३ र २४ गतेको आन्दोलनमा ७७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा ‘फौजदारी लापरबाही’ गरेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो।

बालेन शाह नेतृत्वको नयाँ सरकारले कार्यभार सम्हालेको भोलिपल्टै मन्त्रिपरिषद्को निर्णयमार्फत यो प्रतिवेदन कार्यान्वयनमा लगेको हो। सर्वोच्चले आज हुने सुनुवाइमा पक्राउको प्रक्रिया र कानुनी आधारबारे सरकारसँग जवाफ माग गर्न सक्ने वा अन्तरिम आदेशमार्फत थप निर्णय लिन सक्ने भएकाले यसलाई निकै चासोका साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा