पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना: हिरासतमा स्वास्थ्य बिग्रिएपछि शिक्षण अस्पताल लगियो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल (TUTH) मा भर्ना गरिएको छ। विभागले अदालतबाट ७ दिनको म्याद लिएर उहाँलाई अनुसन्धानका लागि प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो।

हिरासतमै रहेका बेला गएराति साढे १२ बजेतिर निरन्तर बान्ता भएपछि अनुसन्धान अधिकृतहरूको समन्वयमा खड्कालाई सुरुमा नर्भिक अस्पताल लगिएको थियो। तर, स्वास्थ्य अवस्थामा सुधार नआएपछि नर्भिकले थप उपचारका लागि शिक्षण अस्पताल रिफर गरेको विभागका एक अधिकृतले जानकारी दिएका छन्। हाल उहाँको शिक्षण अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैध धन आर्जन र स्रोत नखुलेको सम्पत्ति राखेको अभियोगमा अनुसन्धान गरिरहेको छ। ‘जेनजी’ आन्दोलनका क्रममा उहाँको निवासमा भएको आगजनीपछि फेला परेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रा र स्काउटको जग्गा हिनामिना प्रकरणमा उहाँको संलग्नताबारे सिआईबी र विभागले संयुक्तरूपमा छानबिन अगाडि बढाएका हुन्।

नयाँ सरकारले भ्रष्टाचार र आर्थिक अपराधका पुराना फाइलहरू खोल्ने नीति लिएसँगै उच्च पदस्थ व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्यकै कारण शिक्षण अस्पतालमै हुनुहुन्छ भने अर्का पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना हुनुले अनुसन्धान प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। विभागले खड्काको स्वास्थ्य अवस्था सामान्य हुनासाथ पुनः बयान र अनुसन्धानको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा