कांग्रेसको ‘जरा अभियान’ र १५औँ महाधिवेशनको शङ्खघोष: ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको साङ्गठनिक आधार मजबुत बनाउन र १५औँ महाधिवेशनको तयारीलाई गति दिन ‘एकमहिने जरा अभियान’ घोषणा गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, आगामी २०८३ वैशाख १ गतेदेखि सुरु हुने यस अभियानका लागि खटिएका प्रतिनिधिहरूलाई आजै अभिमुखीकरण समेत दिइएको छ।

अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले अभियानको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने युवानेता प्रताप पौडेलले विशेष महाधिवेशनबाट पारित विधान र प्रतिनिधिको कार्यविधिबारे जानकारी गराउनुभएको थियो। यो अभियानमार्फत ६ हजार ७४३ वटै वडामा प्रतिनिधि पुग्नेछन्। वैशाख मसान्तसम्म चल्ने यस अभियानको मुख्य काम क्रियाशील सदस्यता अद्यावधिक गर्ने रहेको छ। यसपटक प्रत्येक सदस्य सम्बन्धित वडामा स्वयं उपस्थित भएर विवरण अद्यावधिक गर्नुपर्ने र सोपश्चात् मात्र डिजिटल ‘कांग्रेस आइडी’ प्राप्त गरी १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

अभियानले निर्वाचनको समीक्षा, युवा तथा शुभेच्छुकसँगको संवाद, साङ्गठनिक विश्लेषण र स्थानीय सरकारको बजेट निर्माणमा सहजीकरण गर्ने लक्ष्य राखेको छ। कांग्रेसले कोशीदेखि सुदूरपश्चिमसम्मका ७७ जिल्लामै छिमेकी जिल्लाका नेताहरूलाई प्रतिनिधिको रूपमा खटाएको छ। ‘जेनजी’ आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा कांग्रेसले आफ्नो जरा (तल्लो तह) सम्म पुगेर संगठनलाई पुनर्जीवित गर्ने प्रयास स्वरूप यो कार्यक्रम ल्याएको हो।

प्रतिनिधिहरूको सूचीमा कोशीको ताप्लेजुङमा बाबुराम कोइराला, झापामा वसन्त भट्टराई, काठमाडौँमा चिनकाजी श्रेष्ठ, र चितवनमा जितनारायण श्रेष्ठ लगायतका नेताहरू रहेका छन्। १५औँ महाधिवेशनको कार्यतालिका अनुसार नै यो प्रारम्भिक कार्य सुरु भएको कांग्रेसले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा