होर्मुज जलसन्धिमा ट्रम्पको नाकाबन्दी घोषणा: विश्वबजारमा तेलको मूल्यमा उछाल, इरानद्वारा कडा चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा नौसैनिक नाकाबन्दी गर्ने घोषणा गरेपछि विश्वभर युद्धको त्रास र आर्थिक हलचल पैदा भएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यो बाटो भएर जाने जहाजहरूलाई रोकेर जाँच गरिने र विशेष गरी इरानलाई शुल्क (टोल) तिर्ने जहाजहरूलाई कडा निगरानीमा राखिने बताउनुभएको छ।

पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच चलेको २१ घण्टा लामो ऐतिहासिक शान्ति वार्ता निष्कर्षविहीन टुङ्गिएलगत्तै दुवै देश युद्धस्तरको तनावमा उत्रिएका हुन्। इरानले होर्मुज जलसन्धि आफ्नो ‘रेड लाइन’ भएको र त्यहाँबाट यात्रा गर्ने जहाजले इरानी मुद्रा रियालमा टोल तिर्नुपर्ने अडान राख्दै आएको छ। ट्रम्पले इरानको सो आर्थिक स्रोत सुकाउन नाकाबन्दीको कदम चालिएको जिकिर गर्नुभएको छ।

यता, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकालाई कडा चेतावनी दिँदै तेलको मूल्यमा आउने सुनामीका लागि तयार रहन भन्नुभएको छ। “अहिलेको पेट्रोलको मूल्य हेरिराख्नुहोस्, नाकाबन्दीपछि तपाईँहरूलाई प्रति ग्यालन ५ डलरको तेल पनि सस्तो लाग्न थाल्नेछ,” गालिबाफले लेख्नुभएको छ।

ट्रम्पको यो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी क्रुड आयल ८ प्रतिशतले बढेर १०४.२४ डलर र ब्रेन्ट क्रुड ७ प्रतिशतले बढेर १०२.२९ डलर प्रति ब्यारेल पुगेको छ। बालेन्द्र शाह नेतृत्वको नेपाल सरकार र ‘जेनजी’ आन्दोलन पछिको नयाँ परिस्थितिमा नेपाल जस्ता आयातमुखी देशका लागि यो मूल्यवृद्धि थप चुनौतीपूर्ण बन्ने देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा