काठमाडौँ । आजदेखि नयाँ वर्ष विक्रम संवत् २०८३ प्रारम्भ भएको छ। नयाँ उत्साह, उमङ्ग र सङ्कल्पका साथ आज वैशाख १ गते देशभर वर्षको पहिलो दिन हर्षोल्लासपूर्वक मनाइँदै छ। नेपालीहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै यो दिनलाई विशेष पर्वका रूपमा मनाउने गर्दछन्।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ। सूर्यको गतिमा आधारित रहेकाले विक्रम संवत्लाई वैज्ञानिक र शाश्वत संवत्का रूपमा लिइन्छ। आजको दिन विगतका सफलता र असफलताको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजना र सङ्कल्प गर्ने अवसर पनि हो।
नयाँ वर्षको अवसरमा बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजाआजा गर्ने र इष्टमित्रसँग भेटघाट गरी मीठो खाने प्रचलन छ। भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा र तराईमा सहलेश फूलको दर्शन गर्ने विशेष मेलाहरू आजैका दिन लाग्ने गर्दछन्।
बालेन्द्र शाह नेतृत्वको सरकार र ‘जेनजी’ पुस्ताको सक्रियतामा देशमा सुशासन र समृद्धिको नयाँ आशा पलाएको सन्दर्भमा यो वर्षलाई थप महत्त्वपूर्ण मानिएको छ। नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीहरूको उन्नति र प्रगतिको कामना गर्नुभएको छ।





