नयाँ वर्ष केवल पात्रो फेरिएको दिन मात्र होइन, नयाँ सङ्कल्पको उत्सव हो: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै यस दिनलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गर्नुभएको छ। उहाँले नयाँ वर्षलाई नयाँ कामको थालनी, सकारात्मक सोचको विकास र स्वस्थ जीवनशैलीका लागि सङ्कल्प गर्ने उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिनुभएको हो।

आफ्नो सन्देशमा उपराष्ट्रपति यादवले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र विशेष गरी जलवायु परिवर्तन जस्ता साझा चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन र सुशासनको मार्गमा हिँड्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने उहाँको विश्वास छ। बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन र पारदर्शिताका नयाँ मानकहरू स्थापना गरिरहेको वर्तमान परिप्रेक्ष्यमा उपराष्ट्रपतिको यो आह्वानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उपराष्ट्रपतिले नेपालको सांस्कृतिक विविधताको चर्चा गर्दै तराई–मधेसमा मनाइने ‘सतुवाइन’, ‘जुड्शीतल’, ‘सिरुवा पावनी’ र काठमाडौँ उपत्यकाको प्रसिद्ध ‘विस्का जात्रा’को विशेष स्मरण गर्नुभयो। यी मौलिक पर्व र जात्राहरूले नेपालीहरूबीच आपसी मेलमिलाप र सद्भाव बढाउनुका साथै हाम्रो ऐतिहासिक गौरवलाई विश्वसामु उजागर गर्ने उहाँको ठम्याइ छ। अन्त्यमा, उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै राष्ट्रिय एकतालाई थप जीवन्त बनाउन आग्रह गर्नुभएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा