काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजश्वी शेरचन बहुमतले निर्वाचित हुनुभएको छ। शुक्रबार सिंहदरबारमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचनले समितिको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नुभएको हो।
समितिमा भएको निर्वाचन प्रक्रियामा मत गणना नगरी बहुमत र अल्पमतको स्पष्ट आधारमा शेरचनलाई विजयी घोषणा गरिएको थियो। उक्त समितिमा रास्वपाको एक्लै बहुमत रहेकाले शेरचनको जित सहज बनेको हो। रास्वपाले आफ्ना सांसदहरूलाई उम्मेदवारको पक्षमा उभिन ह्वीप जारी गरेको थियो।
यता एमालेका उम्मेदवार गुरु बराललाई नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले समर्थन जनाएका थिए। विपक्षी दलहरूको गठबन्धन बने पनि समितिको गणितीय समीकरणमा रास्वपा हाबी भएपछि बरालको बहुमत पुग्न सकेन। नवनिर्वाचित सभापति शेरचनले अब शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा रहेका महत्त्वपूर्ण विधेयक र राष्ट्रिय मुद्दाहरूमा समितिको नेतृत्व गर्नुहुनेछ।





