काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मौसममा विविधता देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था छ भने मधेस र कोशीको तराई क्षेत्रमा आंशिक बादल लागेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका अन्य पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराईका क्षेत्रमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। यसैबीच कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
पहाडमा वर्षाको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीको चर्को प्रभाव रहने देखिएको छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज तातो दिन (Heat Wave) हुने सम्भावना छ। राति भने पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईको मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।




