काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोस्रो दिन पनि उल्लेख्य गिरावट देखिएको छ। हिजो २६.१६ अङ्कले घटेको बजार आज बुधबार थप २५.८१ अङ्कले ओरालो लागेर २७४४.४५ विन्दुमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा ०.९३ प्रतिशतको गिरावट हो।
परिसूचकसँगै आज कारोबार रकममा पनि संकुचन आएको छ। दिनभर ३५१ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ। जबकि हिजो ६ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। आज १३ उपसमूहमध्ये व्यापार, वित्त र लगानी समूह बाहेक अन्य १० उपसमूह राताम्मे बनेका छन्। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.२४ प्रतिशत र होटल तथा पर्यटन समूह १.६४ प्रतिशतले घटेका छन्।
आजको बजारमा २३५ कम्पनीको शेयर मूल्य घट्दा केवल ३० कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन्। बजार घटे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा भने सकारात्मक उत्साह देखिएको छ, जसको मूल्य सर्वाधिक १३.८१ प्रतिशतले बढेको छ। ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।





