होर्मुज जलमार्ग खुल्ने सङ्केतसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट

वासिङ्टन डिसी । विश्व बजारमा कच्चा तेलको मूल्यमा मंगलबार केही कमी आएको छ। अघिल्लो सत्रमा ६ प्रतिशतले बढेको तेलको मूल्य अमेरिकी नौसेनाले इरानद्वारा बन्द गरिएको रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग खोल्ने सङ्केत देखाएपछि ओरालो लागेको हो। पश्चिम एसियाको प्रमुख उत्पादन क्षेत्रबाट तेल आपूर्ति पुनः सुरु हुन सक्ने सम्भावनाले बजारमा सकारात्मक प्रभाव पारेको छ।

सोमबार अमेरिकाले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमन पुनः सुरु गर्ने उद्देश्यले नयाँ अपरेशन सार्वजनिक गरेको थियो। यसैबिच सिपिङ कम्पनी मेर्सकको अमेरिकी झण्डावाहक जहाज ‘एलायन्स फेयरफ्याक्स’ सैन्य सुरक्षामा सफलतापूर्वक खाडीबाट बाहिरिएपछि आपूर्ति अवरुद्ध हुने त्रास केही कम भएको छ। मंगलबार जुलाईका लागि ब्रेन्ट आयल फ्युचर्स ०.६ प्रतिशतले घटेर प्रति ब्यारेल ११३.७६ डलर र अमेरिकी डब्लूटीआई क्रुड १.५ प्रतिशतले घटेर १०४.८३ डलरमा झरेको छ।

तनाव अझै पूर्ण रूपमा मत्थर भने भइसकेको छैन। विश्वको कुल मागको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यस जलमार्गमा नियन्त्रणका लागि अमेरिका र इरानबिच संघर्ष जारी छ। गोल्डम्यान साक्सका अनुसार विश्वव्यापी तेल भण्डारण आठ वर्षयताकै न्यून स्तरमा पुगेकाले भविष्यमा मूल्य फेरि बढ्न सक्ने दबाब कायमै छ। सेभरनका सीईओ माइक विर्थले होर्मुज बन्द भइरहे विश्वभर भौतिक रूपमै तेलको अभाव देखिने चेतावनी दिनुभएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा