गुल्मी । गुल्मी जिल्लामा शान्ति सुरक्षालाई थप मजबुत बनाउन र आपराधिक घटना नियन्त्रण गर्न राति ९ बजेपछि मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार पछिल्ला समयमा भएका अधिकांश आपराधिक घटनाहरूको मुख्य कारण मदिरा सेवन देखिएको विश्लेषणपछि स्थानीय तह र सरोकारवालाहरूको आग्रहमा यो निर्णय लिइएको हो । प्रशासनले जारी गरेको सूचनामा न्यून गुणस्तरका मदिरा बिक्री नगर्न समेत व्यवसायीहरूलाई निर्देशन दिइएको छ ।
प्रशासनले यो निर्णयको अवज्ञा गर्ने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । यस कदमले जिल्लामा हुने झै–झगडा र आपराधिक क्रियाकलापमा कमी आउने विश्वास स्थानीय प्रशासनले लिएको छ।





