काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि आफ्ना जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ. आगामी बजेट अधिवेशनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ.
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आज र भोलि दुई दिनसम्म यो प्रशिक्षण चल्नेछ. यसअघि पार्टीले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा जनप्रतिनिधिहरूका लागि पहिलो चरणको आवासीय प्रशिक्षण सम्पन्न गरिसकेको छ. अघिल्लो प्रशिक्षणमा विषयविज्ञ र शीर्ष नेताहरूले प्रशिक्षण दिए पनि वरिष्ठ नेता बालेन शाहको अनुपस्थितिलाई लिएर आलोचना भएको थियो.
गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिटमा जित हासिल गरेको थियो. पार्टीका अधिकांश प्रतिनिधिहरू राजनीतिक, संवैधानिक र कानुनी प्रक्रियामा नयाँ रहेकाले उनीहरूको कार्यक्षमता विकास गर्न यस्ता प्रशिक्षणहरू फलदायी हुने रास्वपाको विश्वास छ. बजेट निर्माण र संसदीय प्रक्रियामा सांसदहरूको भूमिकालाई सशक्त बनाउन यसले मद्दत पुर्याउने देखिएको छ.





