मौसम अपडेट: कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षा, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै मौसमी प्रणालीका कारण अहिले देशका विभिन्न भागको मौसममा आंशिकदेखि साधारणतया बदली आएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। यसैगरी कर्णाली प्रदेशको हिमाली भू-भाग र मधेश प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने देशका बाँकी हिमाली, पहाडी तथा तराईका भू-भागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।

आगामी समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा