नवनिर्वाचित केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारीमा कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस आफ्नो १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण कानुनी रूपमा अद्यावधिक गर्न निर्वाचन आयोग जाने अन्तिम तयारीमा जुटेको छ। महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्वले पदभार ग्रहण गरेसँगै आवश्यक कानुनी कागजात र विवरण प्रमाणीकरण गरी निर्वाचन आयोगमा पेश गर्न लागिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पार्टीको विधान र राजनीतिक दलसम्बन्धी प्रचलित ऐनअनुसार नयाँ निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आधिकारिक नामावली आयोगमा दर्ता गर्न आवश्यक फाइलहरू तयार पारिएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले कार्यसमितिको विवरण आयोगमा अद्यावधिक गराउने औपचारिक निर्णय गरेको थियो।

१५ औँ महाधिवेशनमार्फत नेपाली कांग्रेसमा सभापतिसहित २० पदाधिकारी र केन्द्रीय सदस्यहरू गरी कुल २३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। ती सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरी आ-आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्।

राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पनि राजनीतिक दलले आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको निश्चित समयभित्र निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको विवरण निर्वाचन आयोगमा बुझाएर अभिलेख अद्यावधिक गराउनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था रहेको छ। सोही कानुनी प्रक्रिया पूरा गर्न कांग्रेस प्रतिनिधिहरू आजै आयोग पुग्ने कार्यक्रम रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा