विद्युत् लाइन भूमिगत गर्न काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती (कार्यतालिकासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकामा जारी विद्युत् लाइन भूमिगत गर्ने कार्यलाई तीव्रता दिन राजधानीका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। विद्युत् वितरण प्रणालीलाई सुरक्षित, भरपर्दो र सहरी सौन्दर्य वृद्धि गर्ने उद्देश्यले सञ्चालित तार भूमिगत आयोजनाका क्रममा सुरक्षाका लागि बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य फिडरहरूमा भूमिगत केबुल विस्तार तथा कनेक्सन कार्य गर्नुपर्ने भएकाले कात्तिक १३ गतेदेखि कात्तिक २० गतेसम्म दैनिक ५ घण्टा ३० मिनेट बिजुली कटौती हुनेछ। प्राधिकरणका अनुसार तोकिएका दिनहरूमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म विद्युत् सेवा प्रभावित हुनेछ।

प्राधिकरणद्वारा सार्वजनिक गरिएको ८ दिने तालिका यस्तो छ:

  • कात्तिक १३ गते: बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्र।
  • कात्तिक १४ गते: सीतापाइला फिडरअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म।
  • कात्तिक १५ गते: कलङ्की, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलङ्की चोकदेखि ढुङ्गेअड्डासम्म।
  • कात्तिक १६ गते: बाफल फिडरअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म।
  • कात्तिक १७ गते: शङ्खमूल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म।
  • कात्तिक १८ र २० गते: सतुङ्गल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र।
  • कात्तिक १९ गते: स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्र।

प्राधिकरणले निर्धारित समयअगावै काम सम्पन्न भएमा तोकिएको तालिकाभन्दा चाँडै विद्युत् आपूर्ति पुनः सुरु गरिने स्पष्ट पारेको छ। तर, मौसम प्रतिकूल भएमा वा पानी परेको खण्डमा यो कार्यतालिका परिवर्तन वा स्थगित हुन सक्नेछ। निर्माण अवधिभर उपभोक्ताहरूमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गर्दै सहयोगको अपिल गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा