काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले राज्यका प्रमुख तीन अङ्गहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिच गति र भावना नमिल्दासम्म जनताको चाहनाअनुसारको परिणाम आउन नसक्ने बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सभामुख अर्यालले देश निर्माणको हुटहुटी, द्रुत आर्थिक समृद्धि र जनजीविकाका सवालहरूमा प्रभावकारी ढङ्गले काम गर्न राज्यका तीनै अंगबिच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको कुरामा जोड दिए। संसद् दिवसको महत्त्वमाथि प्रकाश पार्दै उनले देशमा विधिको शासन बलियो बनाउन र संविधानको अक्षरशः पालना गर्न कसैले पनि सम्झौता गर्न नहुने बताए।
यसका साथै, सभामुख अर्यालले वैदेशिक रोजगारीको सिलसिलामा विश्वभर छरिएर रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन प्रेरित गर्ने खालको वातावरण बनाउन राज्यका सबै पक्ष सक्रिय हुनुपर्ने उल्लेख गरे। देशलाई साँच्चिकै बस्नलायक बनाउन र समृद्धिको अनुभूति गराउन नागरिक समाज र सरोकारवालाहरूले निरन्तर खबरदारी गरिरहनुपर्ने उनको भनाइ थियो।





