काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ र पोखराका विभिन्न १४ वटा पेट्रोल पम्पमा लगाएको ताला खोलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा देखिएको कृत्रिम अभाव र इन्धन आपूर्तिसम्बन्धी समस्या समाधान भएपछि ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्। काठमाडौँका ८ र पोखराका ६ वटा पम्पमा लगाइएको ताला खोलिएको हो।
मूल्य घटेलगत्तै देशभरका पेट्रोल पम्पहरूले उपभोक्तालाई तेल वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रीको निर्देशनलगत्तै निगमको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा तेल नभएको भन्दै वितरण ठप्प पार्ने ती १४ पम्पमा तत्कालका लागि तालाबन्दी गरिएको थियो।
पम्प सञ्चालकहरूले आफ्नो पम्पमा वास्तवमै तेल नभएको जानकारी गराएपछि निगमले पुनः जाँच गरेको थियो। तेल नभेटिएको पुष्टि भएसँगै निगमले इन्धन उपलब्ध गराएर बन्द गरिएका सबै पम्पहरूको ताला खोलेको हो। हाल बजारमा इन्धनको कुनै अभाव नरहेको र सबै पेट्रोल पम्पहरूबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण भइरहेको निगमले जनाएको छ।





