बागमतीमा नयाँ समीकरणको कसरत: तत्काल सरकार नछाड्ने एमालेको निर्णय, वाम गठबन्धनलाई प्राथमिकता

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश तहमा भइरहेको सत्ता सहकार्य तोडेको घोषणा गरेसँगै बागमती प्रदेशमा कम्युनिस्ट दलहरूबिच नयाँ गठबन्धनको कसरत सुरु भएको छ। सोमबार काठमाडौँमा बसेको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट तत्काल नबाहिरिने निर्णय गर्दै वामपन्थी शक्तिहरूबिचको सहकार्यलाई प्राथमिकता दिने नीति अघि सारेको छ।

यसअघि सरकारबाट बाहिरिने तयारी गरेको एमालेले केन्द्रको औपचारिक निर्णय कुर्ने भन्दै आफ्ना मन्त्रीहरूलाई ‘होल्ड’ मा राखेको छ। पार्टीका केन्द्रीय सचिव महेश बस्नेतसमेत सहभागी उक्त बैठकपछि एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले जनचाहनाअनुरूप नै वामपन्थी शक्तिहरूलाई एकजुट बनाएर अगाडि बढ्ने गृहकार्य भइरहेको बताए। उनले बागमतीसहित अन्य प्रदेशहरूमा पनि कम्युनिस्ट दलहरूबिचको कार्यगत एकता र सहकार्य लगभग निश्चित रहेको दाबी गरेका छन्। आवश्यकता परेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत साथमा लिएर अघि बढ्ने एमालेको रणनीति छ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरूलाई एकतर्फी रूपमा बर्खास्त गरेको र कर्णाली प्रदेशमा राजीनामा दिएर अविश्वासको प्रस्ताव अघि बढाएपछि वाम दलहरूबिचको संवाद बाक्लो बनेको हो। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता हुने र प्रदेश सरकारहरूको विषयमा अन्तिम टुङ्गो लाग्ने बताइएको छ। नयाँ सत्ता समीकरणको यो वाम अभ्यास सबैभन्दा पहिले बागमती प्रदेशबाटै सुरु हुने संकेत नेताहरूले दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा