काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा आएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित सम्पूर्ण नेपाली तथा विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। प्रधानमन्त्री शाहले एक विशेष सन्देश जारी गर्दै साहसिक पर्वतारोहणको क्षेत्रमा ज्यान गुमाएका आरोहीहरूको निधनले देश र विश्वभरका हिमाल प्रेमीहरूलाई गहिरो स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ।
आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको प्रधानमन्त्री शाहको भनाइ छ। हिमालले धेरैलाई शिखरको गौरव दिने भए तापनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने तर साहसी आरोहीहरू आफ्नो योगदानका कारण इतिहासमा सधैँ अमर रहने उहाँले स्मरण गर्नुभएको छ।
८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा ६ जना नेपाली र ४ जना विदेशी गरी १० जना आरोहीहरूको दुःखद निधन भएको थियो। प्रधानमन्त्री शाहले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उहाँहरूको साहस, समर्पण र प्रेरणादायी इतिहास सदैव जीवित रहने बताउनुभएको छ। साथै, उहाँले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति सरकारका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ।




