काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्रअन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला तथा प्रदेशहरूका लागि तीन बुँदे नीतिगत परिपत्र जारी गरेको छ। निर्वाचन प्रक्रियामा पूर्ण एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यले आयोगले सो निर्देशिका पठाएको हो।
आयोगका अनुसार बाँकी रहेका सबै तहका अधिवेशनहरूमा यसअघि जारी गरिएका पार्टी विधान, निर्वाचन कार्यविधि र केन्द्रीय निर्वाचन आयोगका निर्णय तथा व्याख्याहरू समान रूपमा लागु हुनेछन्। परिपत्रमा उम्मेदवारी दर्ता र प्रतिनिधिको हैसियतका सम्बन्धमा कडा व्यवस्था गरिएको छ। जसअनुसार महाधिवेशन चक्रमा कुनै पनि तहमा बहाल रहेको सदस्यले अर्को पदमा उम्मेदवारी दर्ता गर्नासाथ उसको पुरानो प्रतिनिधिको हैसियत स्वतः समाप्त हुनेछ र सो पद रिक्त भएको मानिनेछ।
यसैगरी, पार्टीमा ‘एक व्यक्ति एक तह’ को प्रतिनिधित्व सुनिश्चित गर्न कुनै पनि सदस्यले एकभन्दा बढी तहमा प्रतिनिधित्व गर्न नपाउने नियमलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ। निर्वाचन आयोगले जारी गरेको यो नयाँ व्यवस्थाको पूर्ण पालना गर्न पार्टीका सबै तहका पदाधिकारी, प्रतिनिधि तथा उम्मेदवारहरूलाई आग्रह गरिएको छ।




