मौसम अपडेट: आज पाँच प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशैभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (मङ्गलबार) मौसममा व्यापक बदलाब आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुनेछ। पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति पनि देशभरको मौसम पूर्ण रूपमा बदली नै रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोग्रस्त इलाकाका बासिन्दालाई विशेष सचेत रहन अपिल गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा