जाजरकोटमा पहिरो: १० जना घाइते, ३ जना सम्पर्कविहीन

जाजरकोट। अविरल वर्षाका कारण गएको पहिरोले घर तथा टहरा भत्किँदा जाजरकोटको भेरी नगरपालिकामा १० जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब चार बजेदेखि भएको लगातारको वर्षाले भेरी नगरपालिका–२ रिसाङलगायतका क्षेत्रमा क्षति पुर्याएको हो। घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

पहिरोमा परी गम्भीर घाइते भएका ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीया भद्राकली कार्की र ५२ वर्षीय केदार कार्कीलाई जिल्ला अस्पताल जाजरकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज तथा सुर्खेत रिफर गरिएको छ। अन्य घाइतेहरू सिद्धिबहादुर कामी, अनिता कार्की, युनिश शाही, सुन्तली चदरा, मनवीर चदरा, मनिषा विक र मोतीकला विकको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। पहिरोबाट बच्न भाग्ने क्रममा भेरी–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

घटनामा पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ भने भैरवी केसीका दुई वटा अस्थायी टहरा भत्किएका छन्। हाल सुरक्षाकर्मीको टोलीले सम्पर्कविहीन भएकाहरूको खोजी कार्य तीब्र पार्नुका साथै प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गर्ने काम गरिरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा