सभापति देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने नेपाली कांग्रेसको निर्णय

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुने बताइएको छ। महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि राष्ट्रिय भेला र सम्मेलनका संयोजकले सभापतिको निर्देशनमा समन्वय गर्दै अघि बढाउने निर्णय गरिएको छ।

कांग्रेसले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको भन्दै राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई प्राथमिकतामा राखेर लोकतन्त्रवादी तथा राष्ट्रिय शक्तिहरूसँग संवाद गर्दै राष्ट्रियता र लोकतन्त्र सुदृढीकरणका लागि क्रियाशील रहने जनाएको छ।

त्यस्तै नेपालको सनातनदेखि चलिआएको धर्म-संस्कृति राष्ट्रिय पहिचानको आधार भएको उल्लेख गर्दै हिन्दु, बौद्ध, किरात र प्रकृति धर्मको संरक्षण तथा धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ।

वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमा रहेको व्यवस्थाबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी निष्कर्षमा पुग्ने निर्णय पनि कांग्रेसले गरेको नेता प्रकाशशरण महतले जानकारी दिए।

यसैबीच ३० र ३१ साउनमा भएको कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझाव समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, सीता राना, सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा