काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २४ देखि भदौ १ गतेसम्म सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले समसामयिक राजनीति, संविधान कार्यान्वयन तथा संशोधन, शासकीय अवस्था, आर्थिक गतिविधि तथा सांगठनिक सुदृढीकरणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरेको हो।
बैठकले १५औँ महाधिवेशन सम्पन्न गर्न पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ। महाधिवेशनमा सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन्। उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृति रूपान्तरण, उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचन तथा महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने तय भएको छ।
संविधान संशोधनका सन्दर्भमा कांग्रेसले यसलाई संसद्को क्षेत्राधिकार र सर्वपक्षीय राजनीतिक संवादबाट मात्र अघि बढाउनुपर्ने अडान लिएको छ। साथै, सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा ‘संविधान संशोधन सुझाव आयोग’ गठन गर्न माग गरेको छ।
मुलुकको आर्थिक शिथिलताप्रति चिन्ता व्यक्त गर्दै व्यावसायिक गतिविधिलाई अपराधीकरण गर्ने कानुनी व्यवस्था पुनरावलोकन गर्न र निजी क्षेत्रलाई आतंकित बनाउने धरपकड रोक्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेका हस्तक्षेपप्रति विरोध जनाउँदै उपभोग्य वस्तुको मूल्यवृद्धि र मल–बीउ अभाव समाधान गर्न सरकारसँग माग गरेको छ।




