काठमाडौँ । चान्द्रमासअनुसार श्रावण महिनाको चौथो अर्थात् अन्तिम सोमबारका अवसरमा आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजा सम्पन्न भएको छ। पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले पशुपति क्षेत्र विकास कोषले तोकेअनुसारको रसिद काटी विशेष पूजा गरेका हुन्।
चान्द्रमासअनुसार आज साउनको अन्तिम सोमबार परेकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनहरूको बाक्लो उपस्थिति रहेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए। बोलबम यात्री तथा दर्शनार्थीहरू बिहान २ बजेदेखि नै लामबद्ध भएका थिए भने मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको थियो।
चाडपर्वहरू चान्द्रमासअनुसार मनाइने परम्परा रहेकाले सौरमासको साउन सकिए पनि चान्द्रमासको सोमबार पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थिति देखिएको कोषले जनाएको छ।




