मौसम अपडेट: आज चार प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना, मधेश र कोशीको तराईमा हावाहुरीको चेतावनी

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (मंगलबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा चारवटा प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा र तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै मधेश तथा कोशी प्रदेशको तराईका केही स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थान तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा वर्षा हुनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा