रसुवा बाढी: कोशी प्रदेशका १४५ नागरिक अझै सम्पर्कविहीन, २१ जना सम्पर्कमा आउँदा एकको मृत्यु

विराटनगर । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका बेपत्ता भएका १६७ जना नागरिकमध्ये हालसम्म १४५ जना अझै सम्पर्कविहीन रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कुल बेपत्तामध्ये २१ जना मात्र हालसम्म सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामध्ये २ जनाको सकुशल उद्धार गरिएको छ भने १ जना घाइते अवस्थामा फेला परेका छन्। बाढीमा परेर इलाम घर भएका एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

बाढीबाट कोशी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी सोलुखुम्बुका नागरिक प्रभावित भएका छन्। सोलुखुम्बुका कुल ४२ जनामध्ये ३९ जना अझै सम्पर्कविहीन छन्। यसैगरी ओखलढुङ्गाका १९ जना, उदयपुरका १६ जना, मोरङका १६ जना, सुनसरीका १६ जना, झापाका १० जना, खोटाङका १० जना र इलामका ९ जना नागरिक अझै सम्पर्कमा आएका छैनन्। त्यसैगरी सङ्खुवासभाका ३ जना, भोजपुरका ३ जना, ताप्लेजुङका २ जना, धनकुटाका २ जना तथा पाँचथरका १ जना बेपत्ता रहेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार तेह्रथुम जिल्लाका भने कोही पनि नागरिक बेपत्ता भएको विवरण छैन। हाल सम्पर्कमा नआएका १४५ जनाको खोजी कार्य जारी रहेको र सुरक्षा निकाय तथा स्थानीय प्रशासनले उद्धार र खोजीलाई तीव्रता दिएको जनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा