काठमाडौँ । हलहरूमा प्रदर्शनरत नेपाली चलचित्र ‘पार्वती’ ले पहिलो दिनको प्रदर्शनबाट प्राप्त आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने भएको छ।
फिल्मले शुक्रबार (प्रदर्शनको पहिलो दिन) देशभरका सिनेमा घरहरूबाट कुल २५ लाख ९३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। जसमध्ये निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ बाढी पहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि कोषमा जम्मा गर्न लागिएको फिल्मका वितरक करण श्रेष्ठले जानकारी दिए।
उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाइनेछ। यसअघि फिल्मका निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ सहयोग गरिसकेकी छन्।




