काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बिहीबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा केही प्रदेशका हिमाली र पहाडी भेगमा भारी वर्षाका साथै मधेश र लुम्बिनीको तराईमा हावाहुरीको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। यसका साथै दिउँसो मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै कोशी प्रदेशको तराई भू-भागका केही, मधेश, बागमती र गण्डकीका तराईका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुनेछ। रातिको समयमा कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




