काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट तथा धादिङलगायतका क्षेत्रमा करिब सात हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना नराम्ररी प्रभावित भएका छन्। सरकारद्वारा गरिएको द्रुत क्षति तथा आवश्यकता प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीपहिरोले ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ मोटर चल्ने पुल तथा ६८ झोलुङ्गे पुलमा पूर्ण तथा आंशिक क्षति पुर्याएको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणमा उल्लेख छ।
विपद्का कारण १३ वटा जलविद्युत् आयोजना र दुईवटा प्रसारण लाइन क्षतिग्रस्त हुँदा ७८३ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ भने करिब १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन बगरमा परिणत भएको छ। विपद्को एघारौँ दिनसम्म आइपुग्दा प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३४४ वटा शव फेला परेका छन् भने करिब ६०० विदेशी नागरिकसहित ५ हजारभन्दा बढी अझै बेपत्ता छन्। सुरक्षाकर्मी तथा प्राविधिक टोलीले हालसम्म १३ हजार ९८ जनाको सकुशल उद्धार गरिसकेका छन्।
प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा सञ्चार सम्पर्क पुनःस्थापना गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भारत, चीन, अस्ट्रेलिया, मलेसियालगायतका अन्तर्राष्ट्रिय उद्धार तथा फरेन्सिक टोलीहरू संयुक्त रूपमा खटिएका छन्। नेपाली सेनाले टाँडी नदीमा अस्थायी पुल र त्रिशूलीमा तुइन सञ्चालन गरी यातायात जोड्ने प्रयास जारी राखेको छ। सरकारले बेपत्ता व्यक्तिहरूको पहिचानका लागि परिवारजनलाई महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी डिएनए परीक्षण गराउन आग्रह गरेको छ।





